1. हे परमप्रभु, पुस्तादेखि पुस्तासम्म तपाईं हाम्रा वासस्थान हुनुभएको छ।
2. पहाडहरू उत्पन्न हुनुभन्दा अघि, अथवा तपाईंले पृथ्वी र संसार सृजनुभन्दा अघि, अनादिदेखि अनन्तसम्म तपाईं नै परमेश्वर हुनुहुन्छ।
3. तपाईंले मानिसहरूलाई धुलोमा फर्काइदिनुहुन्छ र भन्नुहुन्छ, ‘‘हे मानिसका सन्तान हो, धुलोमा फर्किजाओ।’’
4. किनकि हजार वर्ष त तपाईंका दृष्टिमा बितेर गएको हिजोजस्तो मात्र हो, र रातको एक पहरजस्तो हो।
5. बाढले लगेझैँ तपाईंले तिनीहरूलाई लैजानुहुन्छ, तिनीहरू निद्राजस्तै हुन्, तिनीहरू बिहान पलाउने घाँसजस्तै हुन्।
6. बिहान त्यो मौलाउँछ र बढ्छ, बेलुकी त्यो ओइलिन्छ र सुक्छ।
7. किनकि तपाईंको रिसमा हामी नष्ट भएका छौं र तपाईंको क्रोधमा हामी व्याकुल भएका छौं।
8. तपाईंले हाम्रा अधर्म आफ्नो सामु राख्नुभएको छ, हाम्रा गुप्त पाप आफ्नो मुहारको उज्यालोमा राख्नुभएको छ।
9. किनकि हाम्रा सबै दिन तपाईंकै क्रोधमा बितेका छन्, हामी आफ्ना वर्षहरू सुस्केरामा बिताउँछौं।
10. हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्यायो भने असी पुग्ला। तापनि तिनीहरूको अवधि हिंसा, कष्ट र शोकमा बित्छ, किनकि आयु चाँडै बित्छ र हामी उडिजान्छौं।
11. तपाईंका क्रोधको शक्ति कसले जान्दछ? किनकि तपाईंको क्रोध तपाईंलाई दिनुपर्ने भय जतिकै ठूलो छ।
12. यसकारण हाम्रो आयु ठीकसँग गन्न हामीलाई सिकाउनुहोस्, जसले गर्दा हामीले बुद्धिको हृदय प्राप्त गर्न सकौं।
13. हे परमप्रभु, नरम हुनुहोस्, कहिलेसम्म कठोर भइरहनुहुन्छ? आफ्ना दासहरूमाथि दया गर्नुहोस्।
14. बिहानै आफ्नो कृपाले हामीलाई तृप्त पार्नुहोस् र हामी हाम्रा जीवनभरि नै रमाउन र आनन्दित हुन सकौं।
15. जति दिन तपाईंले हामीलाई कष्ट दिनुभयो र जति वर्ष हामीले खराबी देख्यौं, त्यहीअनुसार हामीलाई आनन्दित तुल्याउनुहोस्।
16. तपाईंको काम तपाईंका दासहरूकहाँ र तपाईंको महिमा तिनीहरूका सन्तानकहाँ प्रकट होस्।
17. हाम्रा परमप्रभु परमेश्वरको निगाह हामीमाथि रहोस् र हाम्रा हातका कामहरू हाम्रा निम्ति दृढ पारिऊन्। अँ, हाम्रा हातका काम स्थिर पार्नुहोस्।
|