1. परमप्रभुले राज्य गर्नुहुन्छ, पृथ्वी रमाओस्, असङ्ख्य टापुहरू आनन्दित होऊन्।
2. बादल र अन्धकार उहाँको वरिपरि छन्, धार्मिकता र न्याय उहाँको सिंहासनको जग हुन्।
3. आगो उहाँको अगिअगि जान्छ र चारैतिर भएका उहाँका शत्रुहरूलाई भस्म पार्छ।
4. उहाँको चटयाङ्गले संसारलाई उज्यालो पार्यो, पृथ्वीले यो देख्यो र थरथर काम्यो।
5. परमप्रभुको उपस्थितिमा, सारा पृथ्वीका परमप्रभुको उपस्थितिमा पहाडहरू मैनजस्तै पग्लिए।
6. स्वर्गले उहाँको धार्मिकताको वर्णन गर्दछ, र सबै मानिसहरूले उहाँको महिमा देख्नेछन्।
7. कुँदिएका मूर्तिहरूको पूजा गर्नेहरू, मूर्तिहरूमा गर्व गर्नेहरू सबै सर्ममा परून्, हे सबै देवहरू हो, तिमीहरूले उहाँलाई नै दण्डवत् गर।
8. सियोनले सुन्यो र आनन्दित भयो, हे परमप्रभु, तपाईंका न्यायको कारण यहूदाका गाउँहरू रमाए।
9. किनकि हे परमप्रभु, सारा पृथ्वीमाथि तपाईं नै सर्वोच्च हुनुहुन्छ, तपाईं सबै देवहरूभन्दा अति नै उच्च हुनुहुन्छ।
10. हे परमप्रभुलाई प्रेम गर्नेहरू हो, खराबीलाई घृणा गर, उहाँले आफ्ना पवित्रजनको प्राणको रक्षा गर्नुहुन्छ, उहाँले उनीहरूलाई दुष्टको हातदेखि छुटाउनुहुन्छ।
11. धर्मीजनको निम्ति ज्योति र हृदयमा सोझा भएकाहरूका निम्ति आनन्द छरिएको हुन्छ।
12. हे धर्मीजन हो, परमप्रभुमा आनन्द गर, अनि उहाँको पवित्रताको सम्झनामा धन्यवाद चढाओ।
|