1. मैले बादलको वस्त्र पहिरिएको अर्को शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट आेर्लेको देखेँ। उनको शिरमा इन्द्रेनी थियो अनि उनको अनुहार सूर्यजस्तो र पाउहरू आगोको खाँबाजस्ता थिए।
2. उनको हातमा खोलिएको सानो चर्मपत्रको मुट्ठो थियो। उनले आफ्नो दाहिने पाउ समुद्रमा र देब्रे पाउ पृथ्वीमा राखे,
3. अनि एउटा सिंह गर्जेझैँ उनी ठूलो सोरले कराए र उनी कराएपछि ती सात गर्जनहरूले आवाज निकाले।
4. जब ती सात गर्जनहरूले आ-आफ्नो आवाज निकाले, म लेख्नै लागेको थिएँ अनि त्यसैबेला स्वर्गबाट यसो भन्ने आवाज मैले सुनेँ, ‘‘ती सात गर्जनहरूले निकालेका आवाजलाई मोहोर लगाऊ र ती नलेख।’’
5. अनि पृथ्वी र समुद्रमा उभिएका जुन स्वर्गदूतलाई मैले देखेको थिएँ, उनले आफ्नो हात स्वर्गतिर उचाले।
6. अनि सदासर्वदा जीवित रहनुहुने, तथा स्वर्ग र त्यसमा भएका कुरा, पृथ्वी र त्यसमा भएका कुरा, समुद्र र त्यसमा भएका कुरा सृष्टि गर्नुहुनेको नाउँमा उनले शपथ खाएर अब ढीलो हुनेछैन भने।
7. तर ती दिनहरूमा सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्नैलाग्दा उहाँले आफ्ना दास अगमवक्ताहरूलाई घोषणा गर्नुभएझैँ परमेश्वरको रहस्य पूरा हुनेछ।
8. तब स्वर्गबाट मैले सुनेको आवाजले मलाई फेरि यसो भन्यो, ‘‘जाऊ, समुद्र र पृथ्वीमा उभिने दूतको हातमा भएको खुल्ला चर्मपत्रको मुट्ठो लेऊ।’’
9. अनि म ती स्वर्गदूतकहाँ गएँ र त्यो सानो चर्मपत्रको मुट्ठो मागेँ अनि उनले मलाई भने, ‘‘यो लेऊ र खाऊ। यसले तिम्रो पेट तीतो गराउनेछ तर तिम्रो मुखमा त्यो महजस्तै गुलियो हुनेछ।’’
10. मैले ती स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुट्ठो लिएँ र खाएँ। मेरो मुखमा त्यो महजस्तै गुलियो भयो। तर त्यो खाएपछि मेरो पेट तीतो भयो।
11. तब मलाई यसो भनियो, ‘‘तिमीले धेरै जना मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूका विषयमा फेरि अगमवाणी बोल्नुपर्छ।’’
|