1. त्यसपछि मलाई नाप्ने लट्ठीजस्तो एउटा निगालो दिइयो र कसैले यसो भन्यो, ‘‘उठ र परमेश्वरको मन्दिर र वेदीको नाप लेऊ र त्यहाँ आराधना गर्नेहरूको गन्ती गर।
2. तर मन्दिरबाहिरको चोकलाई छोड र त्यसको नाप नलेऊ, किनकि त्यो अयहूदीहरूलाई दिइएको छ र बयालीस महिनासम्म पवित्र शहरलाई तिनीहरूले कुल्चीमिल्ची गर्नेछन्।
3. मेरा दुई साक्षीहरूलाई म एक हजार दुई सय साठी दिनसम्म भाङ्ग्राको वस्त्र लगाएर अगमवाणी बोल्ने शक्ति दिनेछु।’’
4. पृथ्वीको प्रभुका अघि खडा रहेका जैतुनका दुई रूखहरू र दुई सामदानहरू यी नै हुन्।
5. यदि कसैले तिनीहरूलाई हानि गर्ने इच्छा गर्यो भने तिनीहरूका मुखबाट निस्केको आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ। यदि कसैले तिनीहरूको हानि गर्ने इच्छा गर्यो भने यस्तै प्रकारले त्यसलाई मारिनुपर्छ।
6. तिनीहरूसित अगमवाणी गरेका दिनहरूमा पानी नपरोस् भनी आकाश बन्द गर्ने, पानीलाई रगतमा परिणत गर्ने र तिनीहरूले चाहेको बेला पृथ्वीमा प्रत्येक किसिमको विपत्तिले चोट पुर्याउने शक्ति छ।
7. अब तिनीहरूको गवाही सिद्धिएपछि अतलकुण्डबाट निस्केर आउने पशुले तिनीहरूलाई आक्रमण गरी वशमा ल्याएर मारिदिनेछ।
8. तिनीहरूका लाशहरू त्यस ठूलो शहरको सडकमा पस्रिरहनेछन्, जुन शहरलाई उपमाको रूपमा सदोम र मिश्र भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।
9. साढे तीन दिनसम्म तिनीहरूका लाशहरूलाई मानिसहरू, कुल, भाषाहरू र जाति-जातिका मानिसहरूले हेर्नेछन् अनि ती लाशहरू गाड्न दिनेछैनन्,
10. पृथ्वीमा वास गर्नेहरू तिनीहरूका मृत्युमा रमाउनेछन्, आनन्द मनाउनेछन् र आपसमा उपहार लेनदेन गर्नेछन्। किनभने ती दुई अगमवक्ताले पृथ्वीमा वास गर्नेहरूलाई सताएका थिए।
11. साढे तीन दिनपछि परमेश्वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्यो र तिनीहरू आफ्ना पाउमा खडा भए अनि तिनीहरूलाई देख्नेहरू भयभीत भए।
12. अनि तिनीहरूले स्वर्गबाट ‘यतामाथि आओ’ भन्ने एउटा ठूलो आवाज सुने। तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमा स्वर्गतिर उक्ले।
13. त्यही घडी ठूलो भूकम्प गयो र शहरको दशौँ भाग ढल्यो अनि त्यस भूकम्पमा सात हजार मानिसहरू मारिए। अरु बाँचेकाहरू डराए र स्वर्गका परमेश्वरलाई महिमा दिए।
14. दोस्रो विपत्ति बितिहाल्यो, ‘‘हेर, तेस्रो विपत्ति चाँडै आउँदैछ।’’
15. अनि सातौँ स्वर्गदूतले सातौँ तुरही फुके र त्यसपछि स्वर्गमा यसो भन्ने ठूलो आवाज गुञ्जियो, ‘‘संसारको राज्य हाम्रा प्रभुको र उहाँको ख्रीष्टको राज्य भएको छ, अनि उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।’’
16. अनि परमेश्वरको सामुन्ने आ-आफ्नो आसनमा बस्ने ती चौबीसै जना एल्डरहरूले घोप्टो परेर परमेश्वरलाई दण्डवत् गरे
17. र भने, ‘‘हे सर्वशक्तिमान्, परमप्रभु परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं, जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, किनभने तपाईंले आफ्नो ठूलो सामर्थ्य हातमा लिनुभयो र राज्य गर्न थाल्नुभयो।
18. जाति-जातिहरू क्रुद्ध भए, तपाईंको क्रोध प्रकट भयो। मरेकाहरूका न्यायको समय आयो र तपाईंका दास अगमवक्ताहरू र सन्तहरूलाई अनि तपाईंका नाउँको डर मान्ने ठूला-सानाहरूलाई इनाम दिने समय र पृथ्वीको विनाश गर्नेहरूलाई नाश गर्ने समय आयो।’’
19. स्वर्गमा परमेश्वरको मन्दिर खोलियो र उहाँको मन्दिरभित्र उहाँका करारको सन्दुक देखियो। बिजुलीका चमक देखिए। आवाज र गर्जनहरू सुनिए, भूकम्प गयो अनि ठूल्ठूला असिना परे।
|