1. अनि पाँचौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब मैले एउटा तारा देखेँ, जो स्वर्गबाट पृथ्वीमा खसेको थियो। त्यसलाई अतलकुण्डको साँचो दिइयो।
2. त्यसले अतलकुण्ड खोल्यो र त्यसबाट आगोको ठूलो भट्टीको धूवाँजस्तो निस्केर माथि उठयो र त्यो कुण्डको धूवाँले सूर्य र वायुमण्डल अँध्यारो पार्यो।
3. त्यस धूवाँबाट पृथ्वीमा सलहहरू निस्के र पृथ्वीका बिच्छीहरूको जस्तो शक्ति तिनीहरूलाई दिइयो।
4. तिनीहरूलाई पृथ्वीका घाँस वा कुनै बोटबिरुवा वा रूखलाई हानि नगर्नू तर निधारमा परमेश्वरको मोहोर नभएका मानिसहरूलाई मात्र हानि गर्नू भन्ने आदेश दिइयो।
5. तिनीहरूलाई तुरुन्तै नमार्नू तर पाँच महिनासम्म यातना दिनू भन्ने अख्तियार दिइयो र मानिसलाई बिच्छीले डस्दा जस्तो पीडा हुन्छ, तिनीहरूले दिएको पीडा पनि त्यस्तै थियो।
6. ती दिनमा मानिसहरूले मृत्यु खोज्नेछन् तर पाउनेछैनन्। तिनीहरू मर्न इच्छा गर्नेछन् तर मृत्यु तिनीहरूबाट भाग्नेछ।
7. ती सलहहरूको रूप लडाइँको निम्ति तयार पारिएका घोडाहरूजस्ता देखिन्थे, तिनीहरूका शिरमा सुनका जस्ता मुकुट र तिनीहरूका अनुहार मानिसका अनुहारजस्ता थिए।
8. तिनीहरूका केश स्त्रीका केशजस्तै थिए र तिनीहरूका दाँत सिंहका दाँतजस्ता थिए,
9. अनि तिनीहरूका छातीमा लगाइने रक्षाकवच फलामका जस्ता थिए र तिनीहरूका पखेटाहरूको आवाज लडाइँमा दगुर्ने धेरै रथ र घोडाहरूको आवाजजस्तै थियो।
10. तिनीहरूका पुच्छर र खील बिच्छीका जस्तै थिए। तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मानिसलाई चोट पुर्याउने शक्ति थियो।
11. अतलकुण्डको दूत तिनीहरूको राजा थियो। हिब्रूभाषामा त्यसको नाउँ एबाड्डोन र ग्रीकभाषामा त्यसको नाउँ अपोल्लियोन हो।
12. पहिलो विपत्ति बितिहाल्यो, हेर, यसपछि फेरि दुईटा विपत्ति आउन बाँकी छन्।
13. अनि छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके र मैले परमेश्वरको अगाडि भएको सुनको वेदीका चारैवटा सीङबाट एउटा आवाज निस्केको सुनेँ।
14. तुरही लिने छैटौँ स्वर्गदूतलाई यसो भनिएको मैले सुनेँ, ‘‘ठूलो नदी यूफ्रेटिसमा बाँधिराखेका ती चार दूतलाई छोडिदेऊ ।’’
15. अनि मानिस जातिको एक तिहाइ भागलाई मारून् भनेर त्यस घडी, त्यस दिन, त्यस महिना र त्यस वर्षको निम्ति तयार पारिराखिएका ती चार दूतहरूलाई छोडियो ।
16. ती घोडचढी फौजको सङ्ख्या बीस करोड थियो, मैले तिनीहरूको सङ्ख्या सुनेँ।
17. मेरो दर्शनमा देखिएका घोडा र घोडसवारहरूको रक्षाकवचहरू आगोको, नीलमणि र गन्धकको रङ्गका थिए । ती घोडाहरूका टाउका सिंहहरूका टाउका जस्ता थिए। तिनीहरूका मुखबाट आगो, धूवाँ र गन्धक निस्कन्थे।
18. तिनीहरूका मुखबाट निस्केका आगो, धूवाँ र गन्धकका तीन विपत्तिद्वारा मानिस जातिको एक तिहाइ भाग मारियो।
19. किनकि ती घोडाहरूको शक्ति तिनीहरूका मुख र पुच्छरमा थियो, किनभने तिनीहरूका पुच्छरहरू हानि गर्ने टाउका भएका सर्पजस्ता थिए।
20. यी विपत्तिहरूद्वारा नमारिएका बाँकी मानिसहरूले आफ्ना हातका कामहरूबाट अझ पनि पश्चात्ताप गरेनन् । तिनीहरूले भूतहरूलाई र देख्न नसक्ने, सुन्न नसक्ने र हिँड्न नसक्ने सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्त्तिहरूलाई पुज्न छोडेनन्।
21. न त तिनीहरूले आफूले गरेको हत्या, जादुगरी, व्यभिचार र चोरीको निम्ति पश्चात्ताप नै गरे।
|