1. स्वर्गबाट एउटा ठूलो चिन्ह देखियो, सूर्य पहिरेकी, पाउमा चन्द्रमा भएकी र शिरमा बाह्रवटा ताराको मुकुट लाएकी एउटी स्त्री देखा परी,
2. त्यो गर्भवती थिई र प्रसववेदनाले चिच्च्याइरहेकी थिई।
3. अनि स्वर्गमा अर्को एउटा चिन्ह देखियो: हेर, सातवटा शिर, दशवटा सीङ र शिरमा सातवटा मुकुट लाएको एउटा ठूलो रातो अजिङ्गर देखा पर्यो।
4. त्यसको पुच्छरले स्वर्गको एक तिहाइ भाग ताराहरूलाई सोहोरेर पृथ्वीमा फालिदियो। बालक जन्मनासाथ त्यसलाई निलिहालूँ भनी त्यो अजिङ्गर बालक जन्माउन लागेकी स्त्रीको सामुन्ने खडा थियो।
5. त्यस स्त्रीले जाति-जातिका सबैलाई फलामको डन्डाले शासन गर्ने एउटा छोरो जन्माई। त्यसको बालक उठाइएर परमेश्वरकहाँ उहाँको सिंहासनमा लगियो।
6. त्यो स्त्री उजाड-स्थानभित्र भागी, जहाँ एक हजार दुई सय साठी दिनसम्म त्यसको पालनपोषण होस् भनेर परमेश्वरले त्यसको निम्ति ठाउँ तयार पार्नुभएको थियो।
7. अनि स्वर्गमा लडाइँ भयो, मिखाएल र तिनका दूतहरूले त्यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्यसका दूतहरूले पनि युद्ध गरे।
8. तर ऊ बलियो थिएन र तिनीहरूले स्वर्गमा आफ्नो स्थान गुमाए ।
9. त्यो ठूलो अजिङ्गर तल फालियो, सारा संसारलाई बहकाउने त्यो प्राचीन सर्प दुष्ट र शैतान हो। त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।
10. अनि मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनेँ, ‘‘अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्वरका सामुन्ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ।
11. तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीद्वारा त्यसलाई जितेका छन् र तिनीहरूले आफ्नो मृत्युसम्मै पनि आफ्नो ज्यानको माया गरेनन्।’’
12. यसकारण, हे स्वर्गहरू र यसमा रहनेहरू, तिमीहरू रमाओ। तर पृथ्वी र समुद्रलाई धिक्कार छ ! किनभने आफ्नो समय थोरै छ भनी थाहा पाएर शैतान भयानक क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ।’’
13. जब त्यस अजिङ्गरले आफू पृथ्वीमा फ्याँकिएको देख्यो, तब त्यसले छोरो जन्माउने त्यस स्त्रीलाई सतायो।
14. तर त्यस स्त्रीलाई त्यस सर्पको उपस्थितिबाट उजाड-स्थानमा उडेर जानलाई ठूलो गरुडका दुई पखेटा दिइयो। त्यो उजाड-स्थान साढे तीन वर्षसम्म त्यस स्त्रीको पालनपोषणको निम्ति तयार पारिएको थियो।
15. त्यस स्त्रीलाई बाढीले बगाओस् भनेर त्यस सर्पले स्त्रीको पछि आफ्नो मुखबाट नदीजस्तै पानी निकाल्यो।
16. तर पृथ्वीले त्यस स्त्रीलाई सहायता गर्यो र अजिङ्गरले आफ्नो मुखबाट निकालेका नदी पृथ्वीले आफ्नो मुख उघारेर निलिदियो।
17. अनि त्यो अजिङ्गर त्यस स्त्रीसँग क्रोधित भयो, परमेश्वरका आज्ञापालन गर्ने अनि येशूको गवाही दिने तिनका बाँकी सन्तानसँग लडाइँ गर्नगयो।
|