1. त्यसपछि अतलकुण्डको साँचो र एउटा ठूलो साङ्लो हातमा लिएका एउटा दूत स्वर्गबाट ओर्लेर आएको मैले देखेँ।
2. तिनले त्यो अजिङ्गर, त्यो प्राचीन सर्प, जो दुष्ट शैतान हो, त्यसलाई पक्रे र एक हजार वर्षका निम्ति बाँधे ।
3. तिनले त्यसलाई अतलकुण्डमा फालिदिए र त्यो कुण्ड बन्द गरी मोहोर लगाइदिए, यसैले कि एक हजार वर्ष पूरा नभएसम्म जाति-जातिहरूलाई त्यसले बहकाउन नपाओस् । त्यसपछि केही समयको निम्ति त्यसलाई स्वतन्त्र गरिनुपर्छ।
4. तब मैले सिंहासनहरू र त्यसमाथि बस्नेहरूलाई देखेँ, जसलाई न्याय गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरका वचनको निम्ति शिर काटिएकाहरूका आत्माहरू अनि त्यो पशु र त्यसका मूर्त्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई मैले देखेँ। तिनीहरू फेरि जीवित भए र तिनीहरूले ख्रीष्टसँग एक हजार वर्षसम्म राज्य गरे।
5. तर अरु मरेकाहरू ती एक हजार वर्ष पूरा नभएसम्म जीवित भएनन्। यो पहिलो पुनरुत्थान हो।
6. पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्यका र पवित्र हुन्। यिनीहरूमाथि दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन तर तिनीहरूले परमेश्वर र ख्रीष्टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्।
7. एक हजार वर्ष बितेपछि शैतान त्यसको कैदबाट छोडिनेछ,
8. अनि पृथ्वीका चारै दिशामा भएका जाति-जातिहरूलाई बहकाउन अर्थात् गोग र मागोगलाई लडाइँको निम्ति भेला गर्न निस्केर आउनेछ। तिनीहरूका सङ्ख्या समुद्रका बालुवाजतिकै हुनेछ।
9. तिनीहरूले सारा पृथ्वीभरि गएर सन्तहरूका छाउनीको वरिपरि र प्रिय शहरलाई घेरे तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्यो।
10. तिनीहरूलाई बहकाउने त्यो शैतान आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र झूटो अगमवक्ता पनि थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्नेछन्।
11. तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन।
12. मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखेँ र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुराको आधारमा तिनीहरूका कामअनुसार मृतकहरूको न्याय भयो।
13. समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आ-आफ्नो कामअनुसार न्याय भयो।
14. मृत्यु र पाताल अग्निकुण्डमा फालिए। यो अग्निकुण्ड दोस्रो मृत्यु हो।
15. जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन, त्यो अग्निकुण्डमा फालियो।
|