1. यसपछि मैले हेरेँ र हेर, स्वर्गमा एउटा ढोका उघ्रिएको थियो र मैले सुनेको पहिलो सोर मसँग कुरा गरिरहेको तुरहीको आवाजजस्तो थियो, जसले यसो भनिरहेको थियो ‘‘माथि आऊ र म तिमीलाई यसपछि हुनआउने यी कुरा देखाउनेछु।’’
2. म तुरुन्तै आत्मामा भएँ। हेर, स्वर्गमा एउटा सिंहासन थियो र सिंहासनमा एक जना बस्नुभएको थियो।
3. उहाँ जो त्यसमा बस्नुहुने स्फटिक र लालमणिझैँ देखिनुहुन्थ्यो र सिंहासनको वरिपरि हरितमणीझैँ देखिने इन्द्रेणी थियो।
4. सिंहासनको वरिपरि चौबीसवटा आसनहरू थिए अनि ती आसनहरूमा सेता वस्त्र पहिरिएका र आफ्ना शिरमा सुनका मुकुटहरू लगाएका चौबीस जना एल्डरहरू बसेका थिए।
5. अनि सिंहासनबाट बिजुलीको चमकहरू, आवाजहरू र गर्जनहरू निस्कन्थे। अनि त्यहाँ सिंहासनको सामुन्ने आगोका सातवटा बत्तीहरू बलिरहेका थिए, जो परमेश्वरका सात आत्मा हुन्।
6. अनि सिंहासनको अघि स्फटिकझैँ देखिने काँचको समुद्रजस्तो थियो, अनि त्यस सिंहासनको बीचमा, त्यसको वरिपरि र अघि-पछि आँखै-आँखालेभरिएका चारवटा जीवित प्राणीहरू थिए।
7. पहिलो प्राणी सिंहजस्तो थियो अनि दोस्रो प्राणी बाछोजस्तो, तेस्रो प्राणी मानिसको जस्तो अनुहार भएको र चौथो प्राणी उडिरहेको गरुडजस्तो थियो।
8. ती चारैवटा जीवित प्राणीहरूका छ-छ वटा पखेटा र वरिपरि अनि अघि-पछि आँखै-आँखाले भरिएका थिए र तिनीहरू बिनाविश्राम रातदिन यसो भन्थे, ‘‘पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् परमेश्वर, जो हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनआउनुहुनेछ।’’
9. जब ती जीवित प्राणीहरूले सिंहासनमा विराजमान हुनुहुने, जो सदासर्वदा जीवित रहनुहुन्छ, उहाँलाई महिमा, आदर र धन्यवाद चढाउँछन्।
10. तब ती चौबीस जना एल्डरहरू सिंहासनमा विराजमान हुनुहुनेको सामु घोप्टो पर्छन् र सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गर्छन् र यसो भन्दै सिंहासनको सामुन्ने आ-आफ्ना मुकुट राख्छन्,
11. ‘‘हे परमप्रभु, परमेश्वर तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंले नै, तपाईंकै इच्छाबमोजिम र तपाईंद्वारै सृजिएका हुन्।’’
|