1. मैले सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा सातवटा मोहोर लगाएर बन्द गरिएको एउटा चर्मपत्रको मुट्ठो देखेँ।
2. अनि मैले एउटा शक्तिशाली स्वर्गदूतले चर्को सोरमा यस्तो घोषणा गरिरहेको सुनेँ, ‘‘यो मुट्ठो खोल्न र यसका मोहोरहरू तोड्न को योग्य छ ?’’
3. अनि त्यो मुट्ठो खोल्न र त्यसलाई हेर्नसक्ने न स्वर्गमा, न पृथ्वीमाथि, न पृथ्वीमुनि कोही थियो।
4. म धेरै रोएँ, किनकि त्यो मुट्ठो खोल्न, त्यो पढ्न र त्योभित्र हेर्नसक्ने कोही योग्यको पाइएन ।
5. तब एल्डरहरूमध्ये एउटाले मलाई भन्यो, ‘‘नरोऊ ! हेर, यहूदा कुलका सिंह, दाऊदको मूल यो मुट्ठो खोल्न र त्यसका सातवटा मोहोरहरू तोड्न विजयीहुनुभएको छ।’’
6. अनि हेर मैले सिंहासन र चारवटा जीवित प्राणीहरूको बीचमा मारिएको जस्तो देखिनुहुने थुमा एल्डरहरूको बीचमा उभिनुभएको देखेँ, जसका सातवटा सीङ र सातवटा आँखाहरू थिए, जुन सारा संसारभरि पठाइएका परमेश्वरका सात आत्माहरू हुन्।
7. अनि उहाँ आउनुभयो र सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हातबाट त्यो मुट्ठो लिनुभयो।
8. जब उहाँले त्यो मुट्ठो लिनुभयो, तब चारवटा जीवित प्राणीहरू र चौबीसै एल्डरहरू हरेकले वीणा र धूपले भरिएका सुनका धुपौराहरू लिई थुमाको सामु घोप्टो परे, जुन पवित्रजनका प्रार्थना हुन्।
9. तिनीहरूले यसो भन्दै एउटा नयाँ भजन गाए : ‘‘तपाईं यो चर्मपत्रको मुट्ठो लिने र त्यसका मोहोरहरू तोड्ने योग्यका हुनुहुन्छ, तपाईं मारिनुभयो र आफ्नो रगतद्वारा तपाईंले परमेश्वरको निम्ति हरेक कुल, भाषा, मानिस र जातिबाट, मानिसहरूलाई छुटकारा दिनुभयो,
10. अनि तिनीहरूलाई राज्य र हाम्रा परमेश्वरका पूजाहारी बनाउनुभएको छ अनि तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्।’’
11. तब मैले हेरेँ र सिंहासन, जीवित प्राणीहरू र एल्डरहरूका वरिपरि मैले असङ्ख्य स्वर्गदूतहरूका सोर सुनेँ अनि तिनीहरूको सङ्ख्या लाखौं र करोडौं थियो।
12. तिनीहरूले चर्को सोरमा यसो भनिरहेका थिए : ‘‘मारिएका थुमा सामर्थ्य, वैभव, बुद्धि, शक्ति, सम्मान, महिमा र धन्यवाद ग्रहण गर्ने योग्यका हुनुहुन्छ।’’
13. अनि स्वर्ग र पृथ्वीमा, पृथ्वीमुनि, समुद्र र त्यहाँ भएका हरेक प्राणीले यसो भनिरहेको मैले सुनेँ, ‘‘सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्तुति, सम्मान, महिमा र सामर्थ्य सदासर्वदा होस्।’’
14. तब ती चारैवटा जीवित प्राणीले भने, ‘‘आमेन्।’’ अनि ती एल्डरहरूले घोप्टो परेर दण्डवत् गरे।
|