1. अनि जब थुमाले ती मोहोरहरूमध्ये एउटा खोल्नुभएको मैले देखेँ, तब चारवटा जीवित प्राणीहरूमध्ये एक जनाले गर्जनको आवाजजस्तो ‘‘आऊ र हेर’’ भनिरहेको सुनेँ।
2. मैले हेरेँ, अनि हेर, एउटा सेतो घोडा देखेँ, त्यसमाथि सवार हुनेसँग एउटा धनु थियो र उसलाई एउटा मुकुट दिइयो अनि ऊ जित्दै-जित्दै विजय गर्नलाई अघि बढयो।
3. जब उहाँले दोस्रो मोहोर तोड्नुभयो, तब दोस्रो प्राणीले ‘‘आऊ र हेर’’ भनिरहेको मैले सुनेँ।
4. अर्को एउटा रातो घोडा निस्क्यो, मानिसहरूले एक-अर्काको हत्या गरून् भनी यस घोडसवारलाई पृथ्वीबाट शान्ति हरण गर्ने अख्तियार दिइयो। उसलाई एउटा ठूलो तरवार दिइयो।
5. जब उहाँले तेस्रो मोहोर तोड्नुभयो, मैले तेस्रो जीवित प्राणीले ‘‘आऊ र हेर’’ भनिरहेको सुनेँ। मैले एउटा कालो घोडा देखेँ । त्यस घोडसवारको हातमा एउटा तराजु थियो।
6. तब मैले चारवटा जीवित प्राणीहरूको बीचमा यसो भनिरहेको सोरजस्तो केही सुनेँ, ‘‘एक दिनको ज्याला एक किलो गहुँ र एक दिनको ज्याला तीन किलो जौ; तर तेल र मद्यलाई नष्ट नगर्नू।’’
7. जब उहाँले चौथो मोहोर तोड्नुभयो, तब मैले चौथो जीवित प्राणीले ‘आऊ र हेर’ भनिरहेको सुनेँ।
8. अनि मैले हेरेँ, हेर, एउटा पहेँलो घोडसवार देखेँ, जसको नाउँ ‘मृत्यु’ थियो र नरक उसको पछि लागेको थियो। अनि उसलाई पृथ्वीको चौथाइ भागलाई तरवार, अनिकाल, महामारी र पृथ्वीका जङ्गली पशुहरूद्वारा मार्ने अधिकार दिइएको थियो।
9. जब उहाँले पाँचौं मोहोर तोड्नुभयो, तब मैले वेदीको मुन्तिर परमेश्वरको वचन र तिनीहरूले थामेर राखेका गवाहीको खातिर मारिएकाहरूको आत्मालाई देखेँ।
10. अनि तिनीहरू यसो भन्दै चर्को सोरले कराइरहेका थिए, ‘‘हे सर्वशक्तिमान्, पवित्र र सत्य प्रभु, कहिलेसम्म तपाईंले पृथ्वीमा रहनेहरूको न्याय गर्नुहुन्न र हाम्रो रगतको बदला लिनुहुन्न?’’
11. तिनीहरू प्रत्येकलाई एक-एकवटा सेतो लबेदा दिइयो अनि तिनीहरूका सहकर्मी र भाइहरू पनि तिनीहरूझैँ मारिएर सङ्ख्यामा पूरा नहुञ्जेल तिनीहरूलाई पर्खनू भनियो।
12. अनि जब उहाँले छैटौं मोहोर तोड्नुभयो, हेर त्यहाँ एउटा ठूलो भूकम्प गयो र सूर्य रौंले बनेको भाङग्राजस्तो कालो अनि चन्द्रमा रगतजस्तै रातो भयो,
13. ठूलो बतासले नेभारोको रूखलाई हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे।
14. आकाश चर्मपत्रको मुट्ठोझैँ बेरिएर लोप भयो र हरेक टापु र पहाड तिनीहरूका आ-आफ्ना ठाउँबाट हटेर गए।
15. अनि पृथ्वीका राजाहरू, मुख्य मानिसहरू, धनीहरू, मुख्य कप्तानहरू, बलवान् मानिसहरू, हरेक कमारा र स्वतन्त्र मानिसहरू ओडारहरू र पहाडका चट्टानहरूमा लुके।
16. तिनीहरूले पहाडहरू र चट्टानहरूलाई भने, ‘‘हामीमाथि खस र हामीलाई सिंहासनमा बस्नुहुनेको मुहार र थुमाको क्रोधबाट लुकाऊ।
17. किनकि उहाँको क्रोधको भयानक दिन आएको छ र कसले यसको सामना गर्नसक्छ?’’
|