1. यसपछि पृथ्वी वा समुद्र वा कुनै रूखमा बतास नचलोस् भनेर चार स्वर्गदूतहरू पृथ्वीका चारैपट्टिका बतास रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखेँ।
2. अनि मैले जीवित परमेश्वरको मोहोर लिएर अर्को एउटा स्वर्गदूतलाई पूर्वबाट उक्लिरहेको देखेँ, उनले पृथ्वी र समुद्रलाई हानि गर्ने अधिकार पाएका चार स्वर्गदूतहरूलाई चर्को सोरले यसो भने,
3. ‘‘जबसम्म हामी हाम्रा परमेश्वरका कमाराहरूका निधारमा मोहोर लगाउँदैनौं, तबसम्म भूमि, समुद्र र रूखहरूलाई केही हानि नगर।’’
4. अनि मैले इस्राएलका सबै कुलबाट मोहोर लगाइएकाहरूको सङ्ख्या सुनेँ र तिनीहरू एक लाख चवालीस हजार थिए।
5. यहूदाको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो, रूबेनको कुलबाट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई,
6. आशेरको कुलबाट बाह्र हजारलाई, नप्तालीको कुलबाट बाह्र हजारलाई, मनश्शेको कुलबाट बाह्र हजारलाई,
7. शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्साखारको कुलबाट बाह्र हजारलाई,
8. जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई, बेन्यामीनको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो।
9. यसपछि मैले हेरेँ, हेर, हरेक जाति, कुल, मानिस र भाषाहरूका कसैले गन्न नसक्ने ठूलो भीड सेतो वस्त्र पहिरेर अनि आ-आफ्ना हातमा खजूरका हाँगाहरू लिई सिंहासन र थुमाका सामु उभिरहेका थिए।
10. अनि तिनीहरू यसो भन्दै चर्को सोरमा कराए : ‘‘सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।’’
11. अनि सबै स्वर्गदूतहरू सिंहासन, एल्डरहरू र चार जीवित प्राणीहरूका वरिपरि खडा भए अनि सिंहासनको सामुन्ने घोप्टो परी तिनीहरूले यसो भन्दै परमेश्वरलाई दण्डवत् गरे।
12. ‘‘आमेन् ! हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, सम्मान, शक्ति र सामर्थ्य सदासर्वदा होस्, आमेन्।’’
13. एल्डरहरूमध्ये एउटाले मलाई सोधे, ‘‘यी सेता वस्त्र लाउनेहरू को हुन् र कहाँबाट आएका हुन्?’’
14. अनि मैले तिनलाई जवाफ दिएँ, ‘‘हजूर तपाईं नै जान्नुहुन्छ ।’’ तिनले मलाई भने, ‘‘यिनीहरू ती नै हुन्, जो महासङ्कष्ट पार गरेर आएका हुन् र तिनीहरूले आ-आफ्ना वस्त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन्।
15. यसैकारण, तिनीहरू परमेश्वरका सिंहासनको सामुन्ने छन् र उहाँको मन्दिरमा दिनरात उहाँको सेवा गर्दछन् अनि सिंहासनमा विराजमान हुनुहुनेले आफ्नै उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।
16. तिनीहरू कहिल्यै भोकाउने र तिर्खाउनेछैनन्, सूर्यको राप अथवा कुनै प्रचण्ड ताप तिनीहरूमाथि पर्नेछैन,
17. किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूको गोठालो हुनुहुनेछ र तिनीहरूलाई डोर्याएर जिउँदो पानीको मुहानसम्म लानुहुनेछ र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।’’
|