1. जब उहाँले सातौँ मोहोर तोड्नुभयो, तब प्राय: आधा घण्टासम्म स्वर्गमा सन्नाटा छायो।
2. तब मैले परमेश्वरका सामुन्ने उभिएका सात स्वर्गदूतहरूलाई देखेँ। तिनीहरूलाई सातवटा तुरही दिइयो।
3. अर्को एउटा स्वर्गदूत आए अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खडा भए। सिंहासनको सामुन्ने रहेको सुनको वेदीमाथि सबै सन्तहरूका प्रार्थनासँग चढाउनका निम्ति तिनलाई धेरै धूप दिइयो ।
4. सन्तहरूको प्रार्थनासँग धूपको धूवाँ स्वर्गदूतको हातबाट परमेश्वरको अघि पुग्यो।
5. तब स्वर्गदूतले धूपौरो लिएर त्यसमा वेदीको आगो भरेर पृथ्वीमाथि फ्याँकिदिए । अनि गर्जनहरू, आवाजहरू, बिजुलीका चमकहरू उत्पन्न भए र भूकम्प गयो।
6. तब सातवटा तुरही लिएका सात स्वर्गदूतहरू ती फुक्न तयार भए,
7. पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके अनि असिना र रगतसँग मिसिएको आगो आयो र ती पृथ्वीमा फालियो। अनि पृथ्वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग र सबै हरिया घाँसहरू डढिहाले।
8. दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके र आगोले जलिरहेको एउटा ठूलो पहाडजस्तो केही समुद्रमा फालियो र समुद्रको एक तिहाइ भाग रगत बन्यो।
9. अनि समुद्रमा भएका जीवित प्राणीको एक तिहाइ भाग मरे र जहाजहरूको एक तिहाइ भाग नष्ट भए।
10. तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके र आकाशबाट जलिरहेको राँकोझैँ एउटा ठूलो तारा नदीहरूको एक तिहाइ भाग र पानीका मुहानहरूमा खस्यो।
11. त्यस ताराको नाउँ एेरेलु हो र त्यसले गर्दा पानीको एक तिहाइ भाग तीतो भयो र पानी तीतो भएको हुनाले धेरै मानिसहरू मरे।
12. चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, सूर्यको एक तिहाइ, चन्द्रमाको एक तिहाइ ताराहरूको एक तिहाइ भागमाथि प्रहार गरियो अनि तिनीहरूका प्रकाशको एक तिहाइ भागलाई अन्धकारले छोप्यो। तब दिनको एक तिहाइ र रातको एक तिहाइ पनि अन्धकार भयो।
13. तब मैले हेरेँ र बीच आकाशमा उडिरहेको एउटा गरुड यसो भन्दै चर्को सोरले कराएको सुनेँ, ‘‘फुक्न बाँकी रहेका तीन स्वर्गदूतका अरु तुरहीका आवाजको कारणले पृथ्वीमा वास गर्नेहरूलाई धिक्कार ! धिक्कार ! धिक्कार !’’
|