1. म ख्रीष्टमा सत्य बोल्दछु, म झूट बोल्दिनँ। मेरो विवेकले पवित्र आत्मामा गवाही दिन्छ
2. कि मेरो हृदयमा असाध्य ठूलो शोक र अटूट वेदना छ।
3. किनकि मेरा भाइहरूका निम्ति बरु म नै ख्रीष्टमा श्रापित भएको भए हुनेथियो भन्ने इच्छा म गर्दथेँ, जो शरीरअनुसार मेरा कुटुम्बहरू हुन्
4. र जो इस्राएलीहरू हुन्, धर्मपुत्र हुने हक, महिमा, करार, व्यवस्था, मन्दिरको सेवा र प्रतिज्ञाहरू उनीहरूकै हुन्,
5. पिता-पुर्खाहरू पनि उनीहरूकै हुन् र उनीहरूबाट शरीरअनुसार ख्रीष्ट पनि आउनुभयो, जो सर्वोच्च सदासर्वदै धन्यको परमेश्वर हुनुहुन्छ। आमेन्।
6. तर यसमा परमेश्वरको वचन असफल भयो भन्ने होइन, किनकि जो इस्राएलकै वंशका हुन्, उनीहरू सबै इस्राएलीहरू होइनन्।
7. न त अब्राहामका सन्तान हुँदैमा सबै तिनका छोराछोरी नै हुन्, तर ‘‘इसहाकबाट नै तिम्रो वंश गनिनेछ।’’
8. अर्थात् शरीरबाट जन्मेकाहरू परमेश्वरका सन्तान होइनन् तर प्रतिज्ञाका सन्तान नै अब्राहामका सन्तान हुन्।
9. प्रतिज्ञामा यसो भनिएको छ ‘‘यस समयमा म आउनेछु र साराको एउटा छोरो हुनेछ।’’
10. यति मात्र होइन तर रिबेका पनि थिइन्, जसले एक जना व्यक्ति, हाम्रो पिता इसहाकबाट जुम्ल्याहा गर्भधारण गरिन्
11. तर जुम्ल्याहा बालकहरू जन्मनुभन्दाअघि तिनीहरूले कुनै असल वा खराब काम गर्नअघि नै कर्मले होइन तर उहाँको बोलावटअनुसार परमेश्वरको चुनाउको उद्देश्य कायम रहोस् भनेर
12. तिनलाई यसो भनिएको थियो, ‘‘जेठोले कान्छोको सेवा गर्नेछ।’’
13. जसरी लेखिएको छ, ‘‘याकूबलाई मैले प्रेम गरेँ तर एसावलाई तुच्छ ठानेँ।’’
14. अब हामी के भनौं? के परमेश्वरले अन्याय गर्नुभएको हो त ? त्यसो होइन !
15. परमेश्वरले मोशालाई यसो भन्नुभयो, ‘‘जसमाथि म कृपा गर्न चाहन्छु, त्यसलाई म कृपा देखाउनेछु र जसलाई म टिठयाउन चाहन्छु, त्यसलाई म टिठयाउनेछु।’’
16. यसकारण यो मानिसको इच्छा वा प्रयासमाथि निर्भर गर्दैन तर परमेश्वरको कृपामाथि निर्भर गर्दछ।
17. किनकि धर्मशास्त्रले फारोलाई भन्दछ, ‘‘तँमा मेरो शक्ति प्रकट गर्न र सारा पृथ्वीमा मेरो नाउँको घोषणा गर्ने उद्देश्यले मैले तँलाई खडा गरेँ।’’
18. यसकारण उहाँले जसलाई कृपा देखाउन चाहनुहुन्छ, कृपा देखाउनुहुन्छ र जसलाई कठोर पार्न चाहनुहुन्छ, त्यसलाई कठोर पार्नुहुन्छ।
19. तब तिमी मलाई भन्नेछौ, ‘‘परमेश्वरले अझ किन दोष लगाउनुहुन्छ? कसले उहाँको इच्छाको विरोध गर्नसक्छ?’’
20. तर हे मानिस, परमेश्वरको विरुद्धमा बोल्ने तिमी को हौ? जसलाई बनाइयो, उसैले ‘‘तपाईंले मलाई किन यस्तो बनाउनुभयो’’ भनी बनाउनेलाई सोध्ने?
21. अथवा के एउटै माटोको डल्लाबाट एउटालाई आदरको र अर्कोलाई अनादरको भाँडा बनाउने माटोमाथि कुमालेको अधिकार छैन?
22. न्याय र आफ्नो शक्ति प्रकट गर्ने परमेश्वरलाई अधिकार छ तर विनाशको लागि तयार पारिएको क्रोधका पात्रहरूलाई अत्यन्त धैर्यसाथ सहने अधिकार उहाँलाई छ।
23. आफ्नो कृपाको पात्र हुनलाई तयार पारिएकाहरूमाथि महिमाको सम्पत्ति खन्याउने पनि उहाँलाई अधिकार छ।
24. अर्थात् हामी, जसलाई यहूदीहरूबाट मात्र होइन तर अयहूदीहरूबाट पनि उहाँले बोलाउनुभएको छ भने, के भयो त?
25. अयहूदीहरूको सम्बन्धमा परमेश्वरले होशेको पुस्तकमा यसरी भन्नुहुन्छ, ‘‘जुन मेरा मानिसहरू थिएनन्, तिनीहरूलाई म ‘मेरा प्रजा’ तुल्याउनेछु र जसलाई मैले प्रेम गरेको थिइनँ, त्यसलाई म ‘मेरो प्रिय’ भन्नेछु।’’
26. ‘‘अनि जहाँ ‘तिमीहरू मेरा प्रजा होइनौ’ भनी तिनीहरूलाई भनिएको थियो, त्यहीँ तिनीहरू ‘जीवित परमेश्वरका सन्तान’ कहलाइनेछन्।’’
27. इस्राएलको बारेमा यशैया घोषणा गर्छन्, ‘‘इस्राएलका सन्तानको सङ्ख्या समुद्रको बालुवाजतिकै भए पनि, बाँकी रहेकाहरूको मात्र उद्धार हुनेछ।
28. किनकि प्रभुले पृथ्वीमा उहाँका दण्डको आज्ञा दृढता र शीघ्रतासाथ पूर्ण गर्नुहुनेछ।’’
29. यशैयाले यो भविष्यवाणी गरेका छन्, ‘‘सेनाहरूका परमप्रभुले हाम्रा निम्ति सन्तान नछोड्नुभएको भए हामी सदोमजस्तै हुनेथियौं र गमोराजस्तो बन्नेथियौं।’’
30. अब हामी के भनौं? धार्मिकताको पछि नलाग्ने अयहूदीहरूले विश्वासद्वारा पाइने धार्मिकता प्राप्त गरेका छन्।
31. तर इस्राएलले धार्मिकताको व्यवस्थाको खोजी गर्दा पनि यसलाई प्राप्त गर्न सकेको छैन।
32. किन? किनभने तिनीहरूले व्यवस्थाका कर्म गरेर परमेश्वरको अघि धर्मी ठहरिन सकिन्छ भनी ठानेर विश्वासद्वारा धार्मिकता खोजेनन्। तिनीहरू ठेस लाग्ने ढुङ्गामा ठक्कर खाएर लडे।
33. जसरी यो लेखिएको छ, ‘‘हेर म सियोनमा एउटा ढुङ्गो राख्तछु, जसमा मानिसहरूलाई ठेस लाग्छ, एउटा चट्टान, जसले तिनीहरूलाई लडाउँछ तर उहाँमा विश्वास गर्ने कोही शर्ममा पर्नेछैन।’’
|