1. तब यहूदी भएर के फाइदा भयो त? खतनाको के लाभ ?
2. हरेक प्रकारले ज्यादै फाइदा छ। सर्वप्रथम त यहूदीहरूलाई परमेश्वरको वाणी सुम्पिएको थियो।
3. यदि तिनीहरूमध्ये कसै-कसैले विश्वास गरेनन् भने के भयो त? के तिनीहरूको अविश्वासले परमेश्वरको विश्वसनीयतालाई रद्द तुल्याउँछ र?
4. त्यसो कहिल्यै नहोस् ! संसारको हरेक व्यक्ति झूटो ठहरिए तापनि परमेश्वर सत्य रहिरहनुहुन्छ। जस्तो लेखिएको छ ‘‘तपाईं आफ्नो वचनमा ठीक ठहरिनुहुनेछ र न्याय हुँदा तपाईं विजयी बन्नुहुनेछ ।’’
5. यदि हाम्रो अधार्मिकताले परमेश्वरका धार्मिकतालाई प्रकाशमा ल्याउँछ भने हामी के भनौं? क्रोध गर्नुभयो भन्दैमा के परमेश्वर अधर्मी हुनुहुन्छ र? (म मानिसजस्तै भएर बोल्दछु)।
6. कदाचित् होइन ! यदि परमेश्वर निष्पक्ष हुनुहुन्न भने संसारको न्याय कसरी गर्न सक्नुहुन्थ्यो र?
7. यदि मेरो झूटद्वारा परमेश्वरको सत्यता उहाँकै महिमाको निम्ति प्रशस्त हुन्छ भने किन अझै म पापीझैँ न्यायमा पर्छु त?
8. त्यसो भए, असल काम होस् भनेर खराबी नै किन नगर्ने त? हामी त्यसै भन्छौं भनी कोही-कोही मानिसहरूले हामीलाई निन्दापूर्ण दोष लगाउँछन्। तिनीहरूको दोषारोपण उचितै छ।
9. उसो भए के हामी तिनीहरूभन्दा असल छौं त? अवश्य छैनौं, किनभने सबै मानिसहरू, चाहे यहूदी होस् वा अयहूदी, पापको शक्तिको वशमा छन् भनी मैले अघिबाटै स्पष्ट पारिसकेको छु।
10. जसरी लेखिएको छ‘‘धर्मी कोही छैन, एक जना पनि छैन,
11. बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन।
12. ती सबै परमेश्वरदेखि बरालिएका छन्, तिनीहरू एकसाथ भूलमा परेका छन्। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।’’
13. ‘‘तिनीहरूका घोक्रा खुला चिहान हुन्, तिनीहरूका जिब्रोले छलका कुरा बोल्छन्।’’ ‘‘सर्पर्को विष तिनीहरूको ओठमा छ।’’
14. ‘‘तिनीहरूका मुख सराप र तीता कुराले भरिएका छन्।’’
15. ‘‘तिनीहरूका खुट्टा रक्तपात गर्न हतारिन्छन्।
16. बाटोमा हिँड्दा तिनीहरूलाई विनाश र दुर्दशाले ढुकिबसेका हुन्छन्,
17. अनि शान्तिको बाटो तिनीहरूले चिनेका छैनन्।’’
18. ‘‘तिनीहरूका आँखाको सामुन्ने परमेश्वरको भय छैन।’’
19. अब हामी जान्दछौं, जेजति व्यवस्थाले भन्छ, व्यवस्थामुनि हुनेहरूलाई नै भन्छ ताकि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको अघि जवाफदेही होस्।
20. यसैकारण व्यवस्थाको कर्मले कोही मानिस पनि परमेश्वरको दृष्टिमा धर्मी ठहरिँदैन, किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान हुन्छ।
21. तर अब त व्यवस्थाबिना नै परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ। त्यसैको गवाही व्यवस्था र अगमवक्ताहरूले दिएका छन्।
22. येशू ख्रीष्टमा विश्वास गर्ने सबै जनामाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ। किनकि त्यहाँ कुनै भेद छैन,
23. किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्।
24. तिनीहरू परमेश्वरका अनुग्रहको वरदानद्वारा ख्रीष्ट येशूमा भएको उद्धारबाट सित्तैँमा धर्मी ठहरिएका छन्।
25. परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा क्षतिपूर्त्तिको बलिदानस्वरूप प्रस्तुत गर्नुभयो, जुन क्षतिपूर्त्ति विश्वासद्वारा ग्रहण गर्नुपर्छ। यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापलाई उहाँले वास्ता गर्नुभएको थिएन।
26. वर्तमान समयमा उहाँको न्याय प्रदर्शन गर्नलाई यसो गर्नुभयो : उहाँ आफै धर्मी ठहरीन र येशूमा विश्वास गर्नेहरूलाई पनि धर्मी ठहराउन।
27. तब हाम्रो घमण्ड कहाँ गयो? त्यसको त ठाउँ नै छैन। कुन व्यवस्थामा यसो गर्ने त? के यो कामद्वारा हो त? कदाचित् होइन ! तर यो त विश्वासको व्यवस्थाबाट मात्र हुनसक्छ।
28. यसकारण व्यवस्थाका कर्मको पालनद्वारा नभई विश्वासद्वारा नै मानिस धर्मी ठहरिन्छ भनी हामी निष्कर्षमा आउँछौं।
29. के उहाँ यहूदीहरूको मात्र परमेश्वर हुनुहुन्छ र ? के उहाँ अयहूदीहरूको पनि परमेश्वर हुनुहुन्न र ? अँ, हो; उहाँ अयहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ ।
30. किनकि एक परमेश्वर हुनुहुन्छ, जसले खतना भएकाहरूलाई पनि विश्वासद्वारा र खतना नभएकाहरूलाई पनि विश्वासद्वारा नै धर्मी ठहराउनुहुनेछ ।
31. तब के हामी यही विश्वासद्वारा व्यवस्थालाई रद्द गर्छौं? कदाचित् होइन ! बरु हामीले कायम पो राख्छौं।
|