1. तब हामी के भनौं त? शरीरअनुसार हाम्रा पिता अब्राहामले के पाए त?
2. किनकि यदि अब्राहाम कर्मद्वारा धर्मी ठहरिएका भए उनको निम्ति घमण्ड गर्ने केही कारण हुनेथियो, तापनि परमेश्वरको अघि त होइन।
3. किनकि धर्मशास्त्रले के भन्छ? ‘‘अब्राहामले परमेश्वरमाथि विश्वास गरे र त्यो उनको निम्ति धार्मिकता गनियो।’’
4. जब मानिसले काम गर्छ, तब ज्याला पाउँछ, त्यो कृपा होइन तर त्यो उसको हकपूर्ण कमाइ हो।
5. जुन मानिसले काम गर्दैन तर भक्तिहीनलाई धर्मी ठहराउनुहुनेमाथि विश्वास गर्छ, उसको विश्वास धार्मिकताजस्तो गनिन्छ।
6. दाऊदले त्यस मानिसलाई धन्यको भन्छन् जसलाई परमेश्वरले कर्मबिना नै धार्मिक गन्नुहुन्छ
7. ‘‘तिनीहरू धन्यका हुन्, जसका अपराध क्षमा भएका छन् र जसका पाप ढाकिएका छन्।
8. त्यो मानिस धन्यको हो, जसको पापको लेखा परमप्रभुले लिनुहुन्न।’’
9. अब उसो भए, के यो आशीर्वाद खतनेहरूको निम्ति मात्र हो कि बेखतनेहरूको निम्ति पनि हो ? अब्राहामको सम्बन्धमा हेरौं न त ! अब्राहाम उनको विश्वासद्वारा नै धार्मिक गनिए भनी हामीले भन्दै आएका छौं।
10. तब उनी कसरी गनिए? उनी खतनामा हुँदा कि बेखतनामा हुँदा? खतनामा हुँदा होइन, तर बेखतनामा हुँदा,
11. अनि विश्वास गर्नेहरू सबैका पिता हुनलाई तिनीहरू बेखतनामै धर्मी ठहरिऊन् भनेर उनी बेखतनामा हुँदै विश्वासबाट पाउने धार्मिकताको छाप वा खतनाको चिन्ह उनले पाए।
12. अनि उनी ती खतनेहरूका पनि पिता हुन्, जसका खतना भएको मात्रै होइन तर जो विश्वासका पाइलामा हिँड्छन्, जुन विश्वासखतना हुनअघि हाम्रा पिता अब्राहाममा थियो।
13. किनकि अब्राहाम अथवा उनका सन्तानलाई संसारको उत्तराधिकारी हुने प्रतिज्ञा व्यवस्थाद्वारा होइन, तर विश्वासको धार्मिकताद्वारा दिइएको हो।
14. यदि व्यवस्था पालन गर्नेहरू उत्तराधिकारी हुन् भने विश्वास व्यर्थ र प्रतिज्ञा बेकम्मा हुन्छ।
15. किनभने व्यवस्थाले क्रोध उत्पन्न गर्छ तर जहाँ व्यवस्था छैन त्यहाँ अपराध पनि हुँदैन।
16. यसैकारण यो अनुग्रहअनुसार होस् भनेर विश्वासबाट भएको हो र यो प्रतिज्ञा सबै वंशको निम्ति निश्चय होस् भन्ने कारणले पनि हो। व्यवस्थामा भएकाहरूलाई मात्र होइन तर अब्राहामको विश्वासमा हुनेहरूका निम्ति पनि हो, जो हामी सबैका पिता हुन्।
17. जसरी लेखिएको छ ‘‘मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।’’ जुन परमेश्वरको उपस्थितिमा उनले विश्वास गरे, जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका कुरालाई अस्तित्वमा ल्याउनुहुन्छ।
18. जसले ‘‘तेरो सन्तान यस्तै हुनेछ’’ भनी भनेको हुनाले धेरै जातिहरूका पिता हुनलाई निराशामा पनि आशा राखेर विश्वास गरे।
19. प्राय: सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्वासमा कमजोर भएनन्।
20. परमेश्वरको प्रतिज्ञाबारे कुनै पनि शङ्काले अब्राहामलाई डगमगाउन सकेन, बरु आफ्नो दह्रिलो विश्वासद्वारा उनले परमेश्वरलाई महिमा दिए।
21. प्रतिज्ञा गर्नुभएका कुरा परमेश्वरले गर्न पनि सक्नुहुन्छ भन्ने अब्राहामलाई पूरा निश्चय थियो।
22. यसैकारण पनि यो ‘‘उनको निम्ति धार्मिकता गनियो।’’
23. अनि ‘‘उनको निम्ति यो धार्मिकता गनियो’’ भन्ने कुरा उनको निम्ति मात्र लेखिएको होइन,
24. तर हाम्रो निम्ति पनि हो। परमेश्वरले ती मानिसहरूलाई धर्मी ठहराउनुहुन्छ, जसले येशू हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित तुल्याउनुहुनेमाथि विश्वास गर्छन्।
25. उहाँ जो हाम्रा अपराधहरूका निम्ति सुम्पिइनुभयो र हामीलाई धर्मी ठहराउन पुनर्जीवित हुनुभयो।
|