1. यसैकारण विश्वासद्वारा परमेश्वरको अघि धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ।
2. उहाँद्वारा विश्वासको कारण हामीले यस अनुग्रहभित्र प्रवेश पाएका छौं, यही अनुग्रहभित्र हामी खडा छौं र परमेश्वरको महिमाको आशामा आनन्द गर्दछौं।
3. यति मात्र होइन तर सङ्कष्टले धैर्य उत्पन्न गराउँछ भनी जानेर हामी सङ्कष्टमा पनि आनन्दित होऔं।
4. अनि धैर्यले खारिएको चरित्र र खारिएको चरित्रले आशा
5. अनि आशाले निराश बनाउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ।
6. किनकि हामी असहाय छँदै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो।
7. किनकि धर्मी मानिसको निम्ति मर्ने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला।
8. तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ- हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो।
9. यसकारण झन् बढ्ता गरी अब रगतद्वारा हामी धर्मी ठहरिएका छौं, उहाँद्वारा हामी परमेश्वरको क्रोधबाट बचाइनेछौं।
10. किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भयो भने झन् बढ्ता गरी मिलाप पाएको भएर उहाँको जीवनद्वारा उद्धार पाउनेछौं।
11. यति मात्र होइन तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा हामी रमाउँछौं पनि । उहाँद्वारा अब हामीलाई परमेश्वरसँग मिलाप प्राप्त भएको छ।
12. त्यसकारण, जसरी एक जना मानिसद्वारा पापले संसारमा प्रवेश गर्यो र पापद्वारा मृत्यु, यसरी सबैले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो।
13. किनकि व्यवस्था दिइनअघि पनि पाप संसारमा थियो तर जहाँ व्यवस्था छैन, त्यहाँ पापको लेखा पनि हुँदैन ।
14. तापनि आदमले जस्तै पाप नगरेकाहरूमाथि पनि मृत्युले आदमदेखि मोशासम्म राज्य गर्यो, जो आउनुहुनेको प्रतिरूप थियो।
15. तर सित्तैँको वरदान त्यस अपराधजस्तो होइन किनकि एउटा मानिसको अपराधले गर्दा धेरै जना मरे भने त झन् बढी परमेश्वरको अनुग्रह र एउटा मानिस अर्थात् येशू ख्रीष्टद्वारा आएको सित्तैँको वरदान धेरैका निम्ति प्रशस्त भयो।
16. सित्तैँको वरदान त्यस एक जना मानिसको पापको न्यायजस्तो होइन। किनकि एउटा अपराधको न्यायले दण्डको आज्ञा ल्यायो तर धेरै अपराधपछि आउने सित्तैँको वरदानले धार्मिकता ल्याउँछ।
17. यदि एक जनाको अपराधको कारण मृत्युले राज्य गर्यो भने त झन् बढ्ता गरी प्रशस्त अनुग्रह र धार्मिकताको वरदान पाउनेहरूले एक जना अर्थात् येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्।
18. यसैले जसरी एउटै अपराधद्वारा सबै मानिसलाई दोषी ठहराउनलाई न्याय आइलाग्यो, त्यसैगरी धार्मिकताको एउटै कामद्वारा सबै मानिसलाई जीवनको निम्ति धर्मी ठहराउनलाई सित्तैँको वरदान आयो।
19. किनभने जसरी एक जनाको अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए, त्यसैगरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धर्मी ठहरिनेछन्।
20. अपराध प्रशस्तै हुन्छ भनेर व्यवस्था आयो तर जहाँ पाप प्रशस्त भयो, त्यहाँ अनुग्रह झन् बढी प्रशस्त भयो,
21. किनकि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसरी नै येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनुग्रहले पनि धार्मिकताद्वारा अनन्त जीवनसम्म राज्य गरोस्।
|