1. उसो भए हामी के भनौं ? के अनुग्रह प्रशस्त मात्रामा छ भनेर हामी पापमा नै लागिरहने त?
2. त्यसो कहिल्यै नहोस् ! हामी जो पापको निम्ति मर्यौं, अझ कसरी त्यसैमा जिउने?
3. के तिमीहरू जान्दैनौं? हामी सबै जति जनाले ख्रीष्टमा बप्तिस्मा लियौं, उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं।
4. यसकारण बप्तिस्माद्वारा हामी उहाँसँगै मृत्युमा गाडियौं, यसैले कि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवनको चालमा हिँडौं।
5. किनकि उहाँको मृत्युमा हामी उहाँसँग एकै भएका छौं भने उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुनेछौं।
6. हामी जान्दछौं, हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रूसमा टाँगियो, यसैले कि हाम्रो पापमय शरीर नाश होस् र अब उसो हामी पापको कमारा नहोऔं।
7. किनभने जो मरेको छ, त्यो पापबाट स्वतन्त्र भएको छ।
8. यदि अब हामी ख्रीष्टसँग मरेका छौं भने त उहाँसँग जिउने पनि छौं भन्ने विश्वास गर्दछौं।
9. यो जानेर कि ख्रीष्ट मृतकबाट पुनर्जीवित भएर फेरि मर्नुहुन्न, फेरि उहाँमाथि मृत्युको अधिकार हुँदैन।
10. किनकि जुन मृत्युमा उहाँ मर्नुभयो, त्यसमा सबैको पापको निम्ति सधैंको लागि एकैपल्ट मर्नुभयो तर जुन जीवनमा उहाँ अब जिउनुहुन्छ, परमेश्वरको निम्ति जिउनुहुन्छ।
11. त्यसरी नै तिमीहरूले पनि आफूलाई पापको लागि मरेको तर ख्रीष्ट येशूमा परमेश्वरको निम्ति जीवित भएको ठान।
12. यसकारण शरीरका अभिलाषाअनुसार चल्न नपरोस् भनी तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ।
13. आफ्ना शरीरका अङ्गहरू दुष्टताका साधनको रूपमा पाप गर्नको निम्ति समर्पण नगर। तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरूजस्तै आफैलाई परमेश्वरकहाँ दिइहाल र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्तै परमेश्वरकहाँ समर्पण गर।
14. किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन, किनभने तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ।
15. तब के त ? के हामी व्यवस्थाको अधीनमा होइन तर अनुग्रहको अधीनमा छौं भनेर पापै गरौं त ? त्यसो कहिल्यै नहोस्।
16. के तिमीहरूलाई थाहा छैन? जसको वशमा आज्ञापालन गर्नका निम्ति तिमीहरूले आफूलाई दासझैँ सुम्पिदिन्छौ, जसको आज्ञापालन गर्दछौ, तिमीहरू उसैका दास हौ-कि त मृत्युका निम्ति पापका दास, कि त धार्मिकताका निम्ति आज्ञापालनका दास।
17. तर परमेश्वरलाई धन्यवाद होस् कि तिमीहरू पापका दास हुँदा नै तिमीहरूलाई दिइएको शिक्षाको नमुनाप्रति हृदयबाट नै आज्ञाकारी भयौ।
18. तिमीहरू पापबाट स्वतन्त्र पारिएर धार्मिकताका दास भएका छौ।
19. तिमीहरूका शरीरको कमजोरीले गर्दा म मानिसजस्तो गरी बोलिरहेको छु। किनकि जसरी तिमीहरूले आफ्ना अङ्गहरूलाई अपवित्रता र व्यवस्थाहीनतालाई दासको रूपमा सुम्पियौ, जसले अझ बढी व्यवस्थाहीनता उत्पन्न गर्छ, त्यसरी नै अब तिमीहरूका अङ्गहरूलाई धार्मिकताको दासको रूपमा सुम्पिदेऊ, जसले पवित्रता उत्पन्न गर्छ।
20. किनकि जब तिमीहरू पापका दास थियौ, त्यसबेला धार्मिकताको सम्बन्धमा स्वतन्त्र थियौ।
21. अहिले तिमीहरू जुन कुराको निम्ति सर्माउँछौ, त्यसबेला ती कुराबाट तिमीहरूलाई के फाइदा भयो? किनकि ती कुराको प्रतिफल मृत्यु हो।
22. तर अहिले पापबाट स्वतन्त्र भएर परमेश्वरको दास भएको हुनाले यसले पवित्रता उत्पन्न गर्छ, जसको प्रतिफल अनन्त जीवन हुन्छ।
23. किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू, हाम्रा प्रभुमा अनन्त जीवन हो।
|