1. यसकारण अब ख्रीष्ट येशूमा शरीरअनुसार होइन तर आत्माअनुसार हिँड्नेहरूलाई दण्डको आज्ञा छैन।
2. किनकि ख्रीष्ट येशूमा जीवनका आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गराएको छ।
3. पाप स्वभावले दुर्बल पारिएको हुनाले शरीरले जे गर्न सकेन, त्यो परमेश्वरले आफ्ना पुत्रलाई पापमय शरीरको स्वरूपमा पापबलिझैँ पठाएर गर्नुभयो, उहाँले पापलाई शरीरमा नै दोषी ठहराउनुभयो।
4. यसैले कि हामीमा व्यवस्थाको माग पूरा होस्, हामी जो पाप-स्वभावअनुसार होइन तर आत्माअनुसार चल्दछौं।
5. किनभने पाप-स्वभावअनुसार चल्नेहरूले शरीरका कुरामा मन लगाउँछन् तर पवित्र आत्माको अधीनमा चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्।
6. किनकि पाप-स्वभावमा मन लगाउनु मृत्यु हो तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो।
7. किनकि पाप स्वभावमा मन लगाउनु परमेश्वरप्रति शत्रुता हो, किनकि यो परमेश्वरको व्यवस्थाको अधीनमा हुँदैन, न त कहिल्यै हुनसक्छ ।
8. त्यसकारण पाप स्वभावमा हुनेहरूले परमेश्वरलाई खुशी तुल्याउन सक्तैनन्।
9. तापनि यदि परमेश्वरका आत्मा साँच्चै तिमीहरूमा वास गर्नुहुन्छ भने तिमीहरू पाप-स्वभावमा होइन तर आत्मामा हुन्छौ। तर यदि कसैसित ख्रीष्टको आत्मा छैन भने ऊ उहाँको होइन।
10. अनि यदि ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भने पापको कारण शरीर मरे पनि धार्मिकताको कारण आत्मा जीवित हुन्छ।
11. तर येशूलाई मरेकाबाट जीवित पार्नुहुने परमेश्वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने तिमीहरूमा वास गर्ने उहाँको आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।
12. यसैले भाइहरू हो, पाप-स्वभावअनुसार जिउनलाई हामी पाप-स्वभावको ऋणी छैनौं।
13. किनकि यदि तिमीहरू पाप स्वभावअनुसार जिइरहन्छौ भने त मर्छौ तर तिमीहरूले पवित्र आत्माद्वारा शारीरिक कार्यहरू जरैसमेत उखेल्यौ भने तिमीहरू जिउनेछौ।
14. किनभने सबै, जो परमेश्वरका आत्माले डोर्याइएका हुन्छन्, तिनीहरू नै परमेश्वरका सन्तान हुन्।
15. किनभने तिमीहरूले फेरि डर उत्पन्न गर्ने दासत्वको आत्मा पाएका छैनौ तर तिमीहरूले धर्मपुत्र हुने अधिकार पाएको हुनाले उहाँलाई ‘‘अब्बा ! पिता !’’ भनी पुकारा गर्न सक्छौ।
16. आत्मा आफैले हाम्रो आत्मासँग ‘तिमीहरू परमेश्वरका सन्तान हौ’ भनी गवाही दिनुहुन्छ।
17. अनि सन्तान हौ भने त उत्तराधिकारीहरू पनि हौ, साँच्चै परमेश्वरका उत्तराधिकारीहरू र ख्रीष्टसँग साझे-उत्तराधिकारीहरू हौ। यदि हामीले उहाँसँगै दु:ख भोग्यौं भने उहाँसँगै महिमा पनि पाउनेछौं।
18. किनकि म ठान्दछु कि अहिले हामीले भोग्नुपरेका कष्ट उहाँले हामीलाई पछिबाट प्रकट गर्नुहुने महिमासित तुलना गर्न योग्यका छैनन्।
19. किनकि सृष्टिको तीव्र आशाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको उत्सुकतापूर्वक बाटो हेर्दछ।
20. किनकि सृष्टि व्यर्थताको अधीनमा पारियो, त्यसको आफ्नै इच्छामा होइन तर त्यसलाई अधीन गर्नुहुनेको इच्छामा, यो आशामा
21. कि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको दासत्वबाट छुटकारा पाउनेछ ।
22. हामी जान्दछौं, सारा सृष्टिले अहिलेसम्म सुस्केरा हालिरहेछ र प्रसववेदनाको कष्ट भोगिरहेको छ।
23. अनि यति मात्र होइन, हामी आफै पनि जसमा आत्माको पहिलो फल छ, धर्मपुत्र हुन र हाम्रो शरीरको छुटकाराको निम्ति हामी उत्सुकतापूर्वक बाटो हेर्दै आफैभित्र सुस्केरा हाल्छौं।
24. किनकि यही आशामा हामीले मुक्ति पाएका छौं तर देखिने आशा त आशा नै होइन किनकि जुन कुरा मानिसले देख्दछ, त्यसको आशा किन गर्छ र?
25. तर यदि हामीले नदेखेका कुराको आशा गर्छौं भने त दृढतापूर्वक त्यसैको बाटो हेर्दछौं।
26. यसरी नै आत्माले पनि हामीलाई हाम्रा दुर्बलतामा सहायता गर्नुहुन्छ। किनकि हामी जसरी प्रार्थना गर्नुपर्ने त्यसरी गर्न जान्दैनौं तर आत्मा आफैले बयान गर्न नसकिने सुस्केरामा हाम्रा निम्ति अन्तर्विन्ती गर्नुहुन्छ।
27. सबै मानिसहरूका हृदयभित्र भएका कुरा जान्नुहुने पिताले आत्माको विचार बुझ्नुहुन्छ, किनभने परमेश्वरकै इच्छामुताबिक उहाँले सन्तगणका निम्ति अन्तर्विन्ती गरिदिनुहुन्छ।
28. अनि हामी जान्दछौं कि परमेश्वरलाई प्रेम गर्ने र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति सबै कुराद्वारा परमेश्वरले भलाइ नै उत्पन्न गराउनुहुन्छ ।
29. किनकि जसलाई उहाँले अघिबाटै चिन्नुभएको थियो, तिनीहरूलाई आफ्नो पुत्रको स्वरूपमा बनाउनलाई, धेरै भाइहरूमध्ये जेठो होऊन् भनेर उहाँलाई अघिबाटै नियुक्त गर्नुभयो।
30. अनि ज-जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई बोलाउनुभयो, जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी ठहराउनुभयो रजसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई महिमित पनि तुल्याउनुभयो।
31. त्यसो भए यी कुराको विषयमा हामी के भनौं त? यदि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुनसक्छ?
32. यदि उहाँले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन तर उहाँलाई हाम्रो निम्ति दिनुभयो। के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा सित्तैँमा दिनुहुनेछैन र?
33. कसले परमेश्वरका चुनिएकाहरूलाई दोष लगाउनेछ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने
34. दोष लगाउने को हो त? येशू ख्रीष्ट जो मर्नुभयो र मृतकबाट जीवित हुनुभयो, जो परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ, जसले हाम्रो निम्ति अन्तर्विन्ती गर्नुहुन्छ।
35. कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ र ? के सङ्कष्टले वा दु:खले वा अनिकालले वा नग्नताले वा खतराले वा तरवारले?
36. जसरी लेखिएको छ : ‘‘हामी तपाईंको खातिर दिनभरि मारिन्छौं, हामी काटिने भेडाहरूजस्तै गनिएका छौं।’’
37. तर यी सबै कुरामा, हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढी छौं।
38. किनकि म यो निश्चय गरी जान्दछु, कि न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न वर्तमानका कुराले, न पछि हुनआउने कुराले, न शक्तिले,
39. न उचाइले, न गहिराइले, न सृष्टि गरिएका अरु कुनैपनि कुराले, हामीलाई ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट अलग गर्न सक्छ।
|